
काठमाण्डौ २७ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन । शनिबार क्रियाशील सदस्य छानविन समितिले गरिरहेको कामको अवलोकन गर्न पुगेका नेता पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गरिन आवश्यक रहेको बताए । वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने नेता पौडेलको भनाइ छ ।
आगामी नेतृत्व लिने विषयमा आफनो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको र आफुलेपनि सभापति पदकालागि दाबी गरिरहेको भएपनि सभापति पदकालागि यदि नेतृत्व परिवर्तन हुन्छभने अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार रहेको उनको भनाइ छ । तर, आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनेको तर्क थियो ।
महाधिवेशनको लागि आवश्यक आधारको रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफूले लिएको बताए । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलको भनाइ छ ।