मोरङमा कार दुर्घटना : हार्डवेयर व्यवसायीको मृत्यु, चार जना घाइते

विराटनगर ,२७ असार । मोरङको बूढीगंगामा जग्गा र हार्डवेयर व्यवसायी एवं मालपोतका कर्मचारी चढेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति ११:४५ बजेतिर भएको दुर्घटनामा हार्डवेयर व्यवसायीको ज्यान गएको हो । प्रहरीका अनुसार दक्षिणतर्फ जाँदै आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना हुँदा जग्गा व्यवसायी र मालपोतका कर्मचारी गरेर चार जना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको कार आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर जग्गा कारोबारी एवं हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । आचार्यको विराटनगरको खारजीमा हार्डवेयर पसल छ । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो । भेन्टिलेटर अभावमा उपचार सम्भव नभएको भन्दै विराटले थप उपचारका लागि न्युरो अस्पताल रेफर गरिदियो । आचार्यको उपचारकै क्रममा आज आइतबार बिहान ५:१५ बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको एसपी खतिवडाको भनाइ छ ।
एसपी खतिवडाका अनुसार कार दुर्घटनामा परेर चालक बूढीगङ्गा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन् । घाइतेमध्ये मालपोत कार्यालय विराटनगरका अधिकृतसमेत रहेका विवेकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको विराट र न्युरोमै उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन -मापसे गरेर कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

चिकित्सकले उपचारमा ध्यान नदिँदा आचार्यको मृत्यु भएको भन्दै आक्रोसित बनेका आफन्तले न्युरो अस्पतालमा केहीबेर होहल्ला गरेका थिए । गम्भीर अवस्थाका घाइतेलाई तत्काल भेन्टिलेटरमा नराखिएको र उपचारमा चिकित्सकले ढिलाई गरेको भनेर आफन्त आक्रोसित बनेका हुन् । उनीहरुलाई सम्झाईबुझाई गरेर प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।( पूर्वेली न्यूज )

Leave a Reply

Your email address will not be published.