खोलाले बगाएका मुर्मुको शव भेटियो, एक अझै वेपत्ता

दमक,१४ असार । झापाको गौरीगञ्ज गाउँपालिका वडा न. १ मा स्थानीय सानो कमल खोलाले बगाएर वेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ ।आज बिहान करिब ७ बजे उनी बगेको ठाउँबाट करिब ५०० मिटर नजिकै खोला किनारमा तैरिरहेको अवस्थामा मुर्मुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मुर्मुको शव भेटिएपछि स्थानीय प्रहरी चौकी कुञ्जीबारीबाट खटिएको टोलीले कानुनी प्रकृया पूरा गरि शव परीक्षणका लागि पठाउने प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।
बिहिबार दिउँसो करिब ३ बजेदेखि वेपत्ता भएका मुर्मुको खोजीमा सशस्त्र प्रहरी , जनपथ प्रहरी र स्थानीयबासीहरु परिचालित भएका थिए ।
त्यसैगरी सोही वडाको कमल बनियानी खोलाले बुधबार दिउँसो बगाएका १२ बर्षिय मिलन बिकको भने अवस्था अझै अज्ञात छ । उनको खोजी जारी राखिएको भएपनि सो खोलामा पानीको सतह बढ्ने क्रममा रहेको र बेग समेत बढी भएकाले फेला पार्न मुस्किल परिरहेको प्रहरीको भनाई छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिका–२ का २८ वर्षीय बुधे बेस्राको गत विहीवार घर खेतको पानीमा डुबेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.