झापा,११असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ । फिफा विधानको गम्भीर उल्लंघन भएको निष्कर्षसहित गरिएको यो निर्णयले नेपाली फुटबल इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा यस्तो कठोर कारबाहीको सामना गर्नुपरेको हो।
फिफा काउन्सिलको ब्युरोले सार्वजनिक गरेको विज्ञप्तिमा एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गरिएको छ । फिफा विधानको धारा १४ को उपधारा १ (आई) र उपधारा ३ विपरीत सदस्य संघको स्वतन्त्रता र स्वायत्ततामा हस्तक्षेप भएको निष्कर्ष निकाल्दै निलम्बनको निर्णय गरिएको जनाइएको छ ।
फिफाले सदस्य राष्ट्रका फुटबल संघले आफ्नो प्रशासनिक र प्राविधिक गतिविधि स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, एन्फाको आन्तरिक विवादमा बाह्य हस्तक्षेप भएको र त्यसले संघको स्वायत्तता कमजोर पारेको भन्दै विश्व फुटबल निकायले कडा कदम चालेको हो ।
निलम्बनसँगै नेपाली राष्ट्रिय टोली, उमेर समूहका टिम तथा एन्फासँग आबद्ध क्लबहरूले फिफा र एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। यसका साथै फिफाबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोग पनि प्रभावित हुने सम्भावना बढेको छ । फिफाबाट मान्यता प्राप्त नेपाली रेफ्रीहरूले समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा जिम्मेवारी निर्वाह गर्न नपाउने अवस्था सिर्जना भएको छ ।
सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य बनेको थियो। पाँच दशकभन्दा लामो सदस्यताको इतिहासमा एन्फा पहिलो पटक निलम्बनमा परेको हो। त्यसैले यो निर्णयलाई नेपाली फुटबलका लागि एउटा कालो अध्यायका रूपमा हेरिएको छ ।
यसबीच, विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनालाई पनि फिफाले गम्भीर रूपमा लिएको बताइएको छ ।
राखेपको सिफारिसमा अध्यक्षसहित पदाधिकारी, सदस्य र कर्मचारी गरी २४ जनालाई विदेश जान रोक लगाइएको घटनाले अन्तर्राष्ट्रिय फुटबल निकायको चासो अझ बढाएको थियो।