हजुरआमाको हत्या गर्ने गौरादहका खड्का पक्राउ

गौरादह ,१० असार । आफनै हजुरआमाको हत्याको आरोपमा झापा, गौरादहका एक जना युवा पक्राउ परेका छन् । गौरादह ३ स्थायी ठेगाना भएका २९ बर्षिय हरि बहादुर भनिने निरबहादुर खडकालाई प्रहरीले नेपाल भारत सीमा क्षेत्र काँकरभिट्टाबाट पक्राउ गरेको हो ।
खोटाङको बाराहपोखरी गाउँपालिका–५ स्थित दुधकोशी नदीको बगरको खाल्डोमा शंकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसगै उनको हत्या गर्ने नाती निरबहादुरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङलाई उदृत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार गत बैशाख ३१ गते दुधकोशी नदी किनारमा शंकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप–महानगरपालिका–१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडकाको भएको खुलेको थियो । उनको हत्या निरबहादुरले गरेको अनुसन्धानबाट खुलेपछि खोजतलासका क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले लुकीछिपि बसिरहेको अवस्थामा गत बुधबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेका खड्का विरुद्ध कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लगेका र बराहपोखरी–५ स्थित दुधकोशी नदीको बगरमा हत्या मारी खाल्डोमा पुरेर फरार भएका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक र हत्याका आरोपी एकाघरका हजुरआमा र नाती भएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published.