भुटानी अगुवा डा. राई , जसले आफ्ना लागि आफैँ कफन बनाए

दमक,५ असार । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईले दमक वेलडाँगी रोडमा अवस्थित आफू कार्यरत गजुरमुखी क्लिनिकका सञ्चाकल इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफन आmैँ बनाउने र कुँवरलाई अर्डर दिन भने ।
संयोग पनि कस्तो ! जब कफन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफन तयार भएको केही घण्टामै उनको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि इन्द्र भाइ बिरामी पनि परिन्छ, के हो के हो एउटा बाकस बनाउनपर्यो । अर्डर पनि गरियो । उहाँले नै एडभान्स २० हजार दिनुभयो । सिसासहितको कफनका लागि जम्मा ३६ हजार तिर्नुभयो,’ उनी भन्छन्, ‘ उहाँले त्यो बाकस किन ढिला भयो भनेर सोधिरहनुहुन्थ्यो । बल्ल हिजो (शनिबार) तयार भयो । बाकस ल्याएर रिक्साबाट झार्दै थिएँ । डाक्टर साब साह्रै बिरामी भएको खबर पाएँ । क्लिनिकमा डा. राईको कोठामा बाकस राखेर उहाँलाई उपचारका लागि अस्पताल लग्यौँ । राति उहाँको निधन भयो ।’
उनलाई अन्य नेपालीभाषी भुटानीजस्तो नेपाल आउनैपर्ने बाध्यता थिएन । तर, नेपालीभाषीको मायाले भुटानी शरणार्थीसँगै नेपाल आएका हुन् । १९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । नेपालीभाषी दाजुभाइसँगै उनी नेपाल आएका थिए । उनी बिरामी परेका भुटानी शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए ।
भुटानी शरणार्थी नेता डा. राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । तर, भुटानी शरणार्थीको पुनर्वासपछि उनको आन्दोलन कमजोर थियो । भुटान फर्कने उनको सपना अधरै रह्यो । भुटानप्रति उनको माया असाध्यै थियो । उनको क्लिनिकको टेबलमा भुटानको झण्डा सधैँ हुन्थ्यो । तर, देशले उनलाई अनागरिक बनायो । शरणार्थीले पनि बाच्न पाउनुपर्ने मुद्दा उठाउँदै आएका भुटानी शरणार्थी नेता डा. राई देशविहीन भएर अस्ताए । भुटानी शरणार्थीहरु अभिभावक गुमाउन परेको बताउँछन् । डा. राईका बुवा, आमा, श्रीमती र दिदी पनि नेपाल आएरै बिते । उनका सन्तान छैनन् । उनले दमकमा तीन दशकसम्म डेरा गरेर बिरामीको उपचार गर्दै दमकको स्वास्थ्य क्षेत्रमा योगदान गरे ।

उपचारको क्रममा निधन

भुटानी नागरिक समाजका अगुवा डा. राईको निधन भएको छ । दमक ५ मा बस्दैआएका ७२ बर्षिय राईको मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराती २ बजेर ४० मिनेटमा निधन भएको हो ।
डा. राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुन् । राई पेट सम्बन्धी समस्याबाट लामोसमयदेखि पीडित थिए । शनिबार दिउँसो मुटुको चालमा एक्कासी गडबडी भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुवंरले बताए । डा. राईको पार्थिब शरीरलाई आजनै कमल ५ सितापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिएको थियो ।
अन्त्येष्टि कार्यमा भुटानी नेता टेकनाथ रिजाल, दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओली, भुटानी शरणार्थी, शुभचिन्तकहरुको उल्लेखीय उपस्थिति रहेको थयो ।
भुटानी राजाका निजी चिकित्सक भएर काम गरेका उनी सन् १९९१ मा भूटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । राईकी श्रीमती, र बुवा–आमा सहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि डा. राई डेरामा एक्लै बस्दै आएका थिए । गत जेठदेखि उनलाई नगरपालिकाले सम्मान स्वरुप दमकमा आजीवन बस्नेको व्यवस्था गरिदिएको थियो ।
सन १९९० अघि एक लाख बढि भुटानीसगैँ शरणर्थी शिविर प्रवेश गरेका डा. राईले शरणार्थीको निशुल्क उपचार गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.