धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजनालाई

उर्लाबारी,२७ जेठ । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएको छ ।
धिमाल युवा प्रतिभा पुरस्कार छनौट समितिको धिमाल परियोजना स्थल, मंगलबारेमा सोमबार बसेको बैठकले धिमाल जातिकै पहिलो एमबिबिएस डा.सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए ।
दमक–२, खरखरे निवासी सुजनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उतिर्ण गरेकी हुन् । मोरङ,

झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उतिर्ण गरि समुदायबाटै पहिलो डाक्टर हुन सफल भएकाले उनको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको संयोजक धिमालले जानकारी दिए ।

केन्द्रका महासचिव मातृका धिमालका अनुसार हरेक बर्ष असार २ गते जातिरी-सिरिजात पर्व समापनको अवसरमा आयोजित कार्यक्रमको अवसरमा यो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएकोे छ । युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिदै आएको उनले जानकारी दिए ।
सम्मानित व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएको छ । यस अघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वति धिमाललाई उक्त प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published.