चारपटक जनप्रतिनिधि बनेका पूर्ववडाध्यक्ष ढकाल सफारी चलाउँदै

पथरी,२५ जेठ । मोरङ,पथरीका एक परिचित कम्युनिष्ट नेता तथा पूर्व वडाअध्यक्षले श्रम र सादगीपनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ बाट चारपटकसम्म जनप्रतिनिधि बनिसकेका निवर्तमान वडाध्यक्ष कपिलमणि ढकाल हिजोआज प्र–१–०२–००५ ह ५२१४ नम्बरको निलो रंगको सफारी (अटो) चलाउँदै सडकमा भेटिन्छन्।

नेकपा (एमाले) मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका ५८ वर्षीय ढकालको यो दैनिकीले यतिबेला स्थानीय स्तरमा धेरैको ध्यान तानेको छ । पञ्चायतकालको कठिन परिस्थितिदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका कीर्तिपुर निवासी ढकाल, राजकीयसत्ता र राजनीतिक जिम्मेवारीमा रहँदा पनि कहिल्यै सुकिलोमुकिलो र ठालूपनको पछि लागेनन्। जीवनको उत्तरार्धको आरम्भमा पनि उनी डटेर श्रममा लागेका छन्। बजारमा कम्युनिष्ट चरित्र र नैतिकताको खडेरी परिरहेका बेला ढकालको यो कदमलाई स्थानीयले ‘असल कम्युनिष्ट पात्र’ को जीवित दृष्टान्तका रूपमा लिएका छन्।

ढकालका अनुसार यो सफारी चलाउनु केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, बरु जनतासँग प्रत्यक्ष जोडिने र समाजको यथार्थ बुझ्ने महत्त्वपूर्ण औजार पनि हो।
“छोराका लागि किनेको यो गाडी घरिघरि आफैं लिएर हिँड्छु। मेरो सम्बन्ध र सम्पर्क अलिक फराकिलो भएकाले साथीभाइहरू आइहाल्नुहुन्छ, यसबाट थप सम्पर्क र सम्बन्ध बिस्तार हुन्छ,” ढकाल भन्छन्, “बसिबियाँलो पनि भयो। दौँतरीसँग भेट हुँदा सबैखाले कुराकानी हुन्छन्। यसबाट पनि राजनीति भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published.