झापा,२५ जेठ । रुखबाट लडेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । आइतवार बिहान मेचीनगर २ संगम टोल बस्ने ६४ वर्षीय मित्रलाल नेपालको आँगनमा रहेको आँपको रुखबाट लडेर मृत्यु भएको हो । हाँगा काट्न रुख चढेका नेपाल अनियन्त्रित भएर लडेका थिए ।
बिहान ८ बजे घाइते भएका नेपाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा बिहान ९.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए ।
नहरमा वृद्धाको शव फेला
मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शव ग्रामथान–७ की ८९ वर्षीया तिलमाया खड्काको हो । शनिबारदेखि हराइरहेकी खड्का आइतबार दिउँसो करिब १२ बजे नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नाायणप्रसाद चिमरियाले जानकारी दिए ।
हराइरहेकी उनको परिवारले खोजी गरे पनि फेला नपरेपछि स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले शव उठाएर कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ ।