कमल ,७ जेठ । जिल्लाको कमल गाउँपालिकाले बालस्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति गर्दै पालिकाभित्रका ७ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेको छ ।
पालिकाका ७ वटै वडामा अलग अलग कार्यक्रम गरि वडालाई पूर्ण खोप शुनिश्चितता घोषणा गरिएको हो ।
२०८१ साल चैत महिनामा सबै वडामा स्वास्थ्यकर्मीहरूद्वारा घरधुरी सर्वेक्षण गरी खोप छुट बालबालिका पहिचान गर्ने कार्य सम्पन्न गरिएको थियो ।सर्वेक्षण अनुसार, १५ महिनासम्मका ७३३ बालबालिकाले नियमित खोप लिइसकेको पाइएको थियो भने १६ देखि ५८ महिनासम्मका २०७८ बालबालिकामध्ये ५८ जना खोप छुट भएका बालबालिका पहिचान गरी सबै बालबालिकालाई आवश्यक खोप दिई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल थापाले बताए ।
घोषणा कार्यक्रम वडा खोप समन्वय समितिका अध्यक्ष तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकाल ,सम्पूर्ण वडाका वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु, खोप समन्वय समिति सदस्य, स्वास्थ्यकर्मी, खोपकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा अन्य सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सम्पन्न कार्यमा उपलब्धि हासिल गर्न महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, खोपकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी र विभिन्न संघसंस्थाहरूको सक्रिय योगदान रहेको छ ।
कमल गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरि पालिका स्तरमा घोषणा गर्न जिल्ला खोप समन्वय समितिको सचिवालयमा सिफारिस गरिसकेको छ । सचिवालयबाट स्वीकृति प्राप्त भएपछि कमल गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बतए ।