दमकमा लक्षित समुदायको एकैदिन दुई कार्यक्रम

दमक,४ जेठ ।दमक नगरपालिकाले आज एकै दिन लक्षित समुदायका लागी दुईवटा कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक बिकास समितिको आयोजनामा कुष्ठरोग तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री निशुल्क वितरण र महिलाहरुका लागी तिन चक्के अटो ड्राईभिङ्ग तालिमको उद्घाटन गरेको हो ।
कार्यक्रमको संयुक्त रुपमा दमक नगरपालिकाका प्रमुख राम थापाले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापाले दमक नगरपालिकाले लक्षित समुदायका लागी अत्यन्तै धेरै कार्यक्रमहरु सञ्चालन गरिएको बताए । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर निशुल्क स्वास्थ्य परीक्षण देखि अपाङ्गता भएकाहरुलाई जिविकोपार्जनका लागी पनि कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए । नगरपालिकाको बजेटले नपुगे पनि अन्य संघ संस्थाहरुसंग सहयोग लिएर भए पनि लक्षित समुदायको हितका लागी कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो ।
कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले अशक्त मानिसलाई शसक्त बनाउनुनै सबैभन्दा ठुलो उपलब्धि भएको भन्दै आफुहरु त्यसमा लागिरहेको बताईन् ।
कार्यक्रमको अध्यक्षता गरेकी दमक नगरपालिकाकी सामाजिक बिकास समितिकी संयोजक शारदा भट्टराईले अशक्त असहाय साथै मुलधारमा नरहेको समुदायको हितका निम्ति औपचारीक फोरममा मात्रै नभएर जुनसुकै समयमा पनि सहयोग गर्नुपर्ने उल्लेख गरिन् ।
तिन चक्के अटो ड्राईभिङ्ग तालिममा १२ जना महिलाहरु सहभागी रहेको दमक नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी अधिकृत जमुना पौडेलले जानकारी दिईन् । तालिम लिईसकेपछि अटो सञ्चालन गरेर उनीहरु स्वाबलम्बी बन्ने अपेक्षा गरिएको उनले बताईन् ।
त्यसैगरी अपाङ्गता भएका १२७ जनाको नाम दर्ता भएको र उनीहरुको आवश्यकता अनुसारका सहायक सामाग्रीहरु नापजाँच गरिएकाले तयार भएपछि हस्तान्तरण गरिने उनले जानकारी दिईन् । अपाङ्गता भएकाहरुलाई ह्विल चियर, ट्राईसाईकल, कृत्रिम हातखुट्टा, स्पेशल जुत्ता, बैशाखी लगायतका सामाग्रीहरु निशुल्क उपलब्ध गराईने अधिकृत पौडेलले बताईन् ।

 

Leave a Reply

Your email address will not be published.