झापा,२ जेठ । विगत केही दिनदेखि झापामा कोरोनाको संक्रमण दर घट्दै गएको छ ।शासनले निषेधाज्ञामा कडाइ गरेपछि संक्रमण घट्दै गएको हो । शनिबार १९७ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार भने कुल संक्रमितको संख्या ९९ रहेको छ । पीसीआरतर्फ ६१ जना र एन्टिजेन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि बिहीबार २७६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको थियो । त्यस्तै, शुक्रबार घटेर २१३ जनामा संक्रमण पुष्टि भएको थियो भने एक जनाको मात्र मृत्यु भएको थियो ।संक्रमण दर घट्दै जाँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ । बिहीबार ३३ जना निको भएका थिए भने शुक्रबार २८ र शनिबार ५७ जना निको भएका थिए । आइतबार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।आंशिक निषेधाज्ञा हुँदा यसअघि संंक्रमण दर ३ सयभन्दा माथि थियो भने मृत्यु दर ८ जनासम्म पुगेको थियो ।पछिल्लो २४ घण्टाभित्र झापामा मात्र ९९ जनामा संक्रमण पुष्टि हुँदा ३७ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ २१ महिला र ४० पुरुष, तथा एन्टिजेनतर्फ १६ महिला र २२ जना पुरुषमा संक्रमण भएको हो ।सबैभन्दा बढी हल्दिबारी गाउँपालिकामा २४ जना रहेका छन् । जसमा ५ महिला र १९ जना पुरुष छन् । दमकमा ११ महिलासहित १९ जना, कमलमा २ महिलासहित ७ जना, मेचीनगरमा ३ महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बिर्तामोडमा ४ महिलासहित १२ जना, अर्जुनधारामा ४ महिलासहित ६ जना, भद्रपुरमा १ महिलासहित ५ जना, शिवसताक्षीमा २ महिलासहित ५ जना, कचनकवल र कनकाईमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमितको संख्या ७६१६ रहेको छ भने निको हुनेको संख्या ४८४७ रहेको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् । यस्तै, विभिन्न आइसोलेसनमा २६०४ जनाको उपचार भइरहेको छ ।
तीनजनाको मृत्यु
पछिल्लो चौबीस घण्टामा झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन शनिवार कसैको पनि मृत्यु नभएको झापामा आइतवार दुई महिलासहित तीनजनाले ज्यान गुमाएका हुन् । यसक्रममा मेचीनगर ९ की बुढाथोकी थरकी ८६ वर्षिया बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिवार राति १०.१५ बजे मृत्यु भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए । योसँगै मेचीनगरमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
त्यस्तै झापा गाउँपालिका–६ आदर्श टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । क्यान्सर रोगले समेत पीडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए । योसंगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको सँख्या ३ पुगेको छ ।
त्यस्तै कमल ६ का बस्नेत थरका ७८ वर्षिय बृद्धको आज दिउँसो मृत्यु भएको छ । आम्दा अस्पताल दमकमा उपचारका क्रममा उनको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले जानकारी दिए ।योसँगै कोरोनाको दोस्रो लहरमा कमलमा दुईजनाको मृत्यु भएको छ । त्यहाँ १५४ जना सक्रिय संक्रमित रहेको र २५ जना निको भएर डिस्चार्ज भएको अर्यालले बताए । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १७४ पुगेको छ ।