कमलका शिक्षकलाई बाह्य अध्यापनमा जान रोक

दमक,१ जेठ । झापाको कमल गाउँपालिकाले आफना पालिका भित्रमा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरुलाई अन्यत्र पठनपाठन गर्न कडाईका साथ रोक लगाउने भएको छ ।
स्थानीय सरकार र सम्बन्धित बिद्यालय व्यवस्थापन समितिसँग अनुमति÷स्वीकृत नलिई बाहिरका शिक्षण संस्थामा काम गर्न जान नपाउने व्यवस्था कडाइँसाथ लागू गर्ने भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आज बिद्यालयलाई परिपत्र गर्दै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कठोर कदम चाल्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।
गाउँपालिकाले शिक्षा नियमावली – २०५९ तथा शिक्षक आचारसंहितामा सामुदायिक विद्यालयका शिक्षकहरुले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति बिना आफू कार्यरत विद्यालय बाहिर काम गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउदै
परिपत्रमा भनिएको छ , –‘सम्बन्धित शिक्षकहरूले आवश्यक स्वीकृति लिएर मात्र बाह्य अध्यापन गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट विवरण उपलब्ध गराउन निर्देशन गरेका छौं ।’
कमल गाउँपालिका वडा नं ६ स्थित बाणी माध्यमिक विद्यालयका केही शिक्षकले अन्य शैक्षिक संस्थामा समेत अध्यापन गरिरहेको भन्ने गुनासो आएपछि यथार्थ विवरण पेश गर्न विद्यालयलाई निर्देशन समेत दिइएको छ ।
गाउँपालिकाको शिक्षा शाखाबाट जारी पत्रअनुसार विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाले संयुक्त हस्ताक्षरसहित दिएको निवेदनका आधारमा सो विषयमा चासो लिइएको हो । निवेदनमा विद्यालयका प्रधानाध्यापकसहित केही शिक्षकले अन्य शिक्षण संस्थामा समेत अध्यापन गरिरहेको उल्लेख गरिएको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.