दमक ,१ जेठ । दोस्रो दमक खेलकुद महोत्सव–२०८३ अन्तर्गत आयोजित वडा स्तरीय तेक्वान्दो प्रतियोगितामा दमक नगरपालिका वडा नम्बर–२ च्याम्पियन बनेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालित प्रतियोगितामा ८ स्वर्ण जित्दै दमक -२ यसवर्ष पनि नगर च्याम्पियन बन्न सफल भएको हो । अघिल्लो वर्ष पनि दमक- २ ले तेक्वान्दोमा च्याम्पियन बनेको थियो ।
दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा २९ केजी वजन समूहबाट प्रतिष्पर्धा गरेकी प्रज्ञा तामाङ , साइल राई (२० केजी), इसाक राई (५५ केजी), डिम्पल बस्नेत (२० केजी), साइनो मगर (२६ केजी), रन्जिता तामाङ (४६ केजी), चिनो मगर (३५ केजी) र सुसान तामाङ (४९ केजी) ले स्वर्णपदक जिते ।
त्यसैगरी, सुम्निमा लिम्बू (४२ केजी), भिक्टोर कार्की (३३ केजी) र सिकुम लिम्बू (५५ केजी) मा प्रतिष्पर्धी दुई खेलाडीले काँस्यपदक जिते भने संयोग थापा (२९ केजी), रायन तामाङ (२६ केजी), प्रतिक्षा तामाङ (५० केजी) र प्रगति तामाङ (३३ केजी) ले काँस्यपदक जितेका छन् । पुम्से विधातर्फ सुसान तामाङ र रन्जिता तामाङले पनि कास्यपदक जित्न सफल भए ।
यसैगरि ,दमक -५ ले ६ स्वर्ण पदक जित्दै दोश्रो बनेको थियो । जसअनुसार ३३ केजी वजन समूहबाट अपर्ण धिमाल, ३९ केजीबाट आशिष धिमाल, ४२ केजीबाट रेसु धिमाल , ४४ केजीबाट शुभम अधिकारी र पुम्से तर्फ सेमिना राई र एस्विन तुम्रोकले स्र्वण पदक जितेका थिए । त्यसैगरि, दमक -५ ले ४ रजत र ६ कास्यपदक जित्न सफलभएको थियो । त्यसैगरि, प्रतियोगिताको पुरुषतर्फ सर्वोत्कृष्ठ खेलाडीका रुपमा दमक ५ कै अर्पण धिमाल घोषित भए ।
दमकका १० वटै वडाको सहभागिता रहेको प्रतियोगितामा दमक -४ ले तीन स्वर्ण , ५ काँस्य र ४ रजत पदक जितेको थियो । प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई नगद २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, कास्य पदक जित्नेलाई १ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा रजतपदक जित्ने खेलाडीलाई १ हजार २ सय रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बुधबार सम्पन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई समाजसेवी बलराम धिमाल,दमक नगर खेलकुद विकास समितिका सदस्य तथा खेल संयोजक समेत रहेका दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल लगायतले पुरस्कार वितरण गरेका थिए ।
दमक नगर खेलकुद विकास समितिको आयोजनामा बैशाख २८ देखि ३० गतेसम्म आयोजित तीन दिने खेलकुद महोत्सवमा फूटवल , भलिवल, एथलेटिक्स, चेस, व्याडमिन्टन, क्रिकेट,आईटीएफ तेक्वान्दो , कराते लगायतको खेल सञ्चालन गरिएको थियो ।
