झापा ,२१ बैशाख । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको स्तरोन्नतिका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । साथै प्रतिष्ठानले भोगाधिकार समेत माग गरिएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रधानमन्त्रीका सचिवालय सदस्य नबिन भण्डारी मार्फत सोमबार प्रधानमन्त्री बालेन्द्र शाह समक्ष रङ्गशालाको भोगाधिकार, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर ) स्वीकृति तथा आगामी आर्थिक वर्षको बजेट विनियोजनका लागि वजेट माग प्रस्तुत गरेका हुन् ।
अध्यक्ष राईका अनुसार, तत्कालीन खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पहलमा छुट्याइएको रु १ करोड बजेटबाट हालसम्म करिब ३५० मिटर ईँटाको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ ।
राईले रङ्गशालाको निर्माण कार्य पूर्ण भएमा पूर्व–पश्चिम लोकमार्गसँग प्रत्यक्ष जोडिने भएकाले यो कोशी प्रदेशकै एक प्रमुख र सुविधासम्पन्न रङ्गशालाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार, यस परियोजनाले खेलकुद विकाससँगै स्थानीय स्तरमा आर्थिक गतिविधि, पर्यटन प्रवद्र्धन तथा युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।