मोरङ,२० बैशाख । नेपाल पत्रकार महासंघ मोरङले आइतबार अग्रज पत्रकार सम्मान गर्नुका साथै आँखा शिविरको आयोजना गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज एक कार्यक्रमका बीच महासंघले लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका ६० वर्ष उमेर पुगेका ३ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा केदार चौहान, केदार रिजाल र ज्योति शर्मा रहेका छन् । उनीहरुले चाँदीको तक्मासहित सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा तथा कोशी प्रदेश सरकारका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरतबहादुर खड्का, पत्रकार महासंघ कोशीका
पूर्वअध्यक्ष विक्रम लुँइटेल, महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्की, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मालगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।
सोहि अवसरमा महासंघले आयोजना गरेको आँखा शिविरमा पत्रकार तथा सर्वसाधारणको आखाँ जाँच गर्नुका साथै परामर्श तथा आवश्यक औषधी र चश्मा समेत वितरण गरिएको थियो । आखाँ शिविरमा ९५ जना लाभान्दित भएका थिए ।
६० वर्ष नाघेका अग्रज पत्रकारहरुलाई महासंघ मोरङले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्मान गर्दै आएको छ ।