बिर्तामोड जग्गाकाण्डमा संलग्न ९ जना जेल चलान

बिर्तामोड , १९ बैशाख । नक्कली जग्गाधनी खडा गरी बिर्तामोडको करोडौंको जग्गा ठगी गर्दा पक्राउ परेका भू–माफिया गिरोहका १० जनामध्ये ९ जना जेल चलान भएका छन् ।

एकजना भने धरौटीमा रिहा भएका छन् । घटनामा संलग्न ६ जना अझै फरार छन् । जेल जानेहरुमा बाह्रदशी ३ स्थायी ठेगाना भई हाल बिर्तामोड २ चैतुवारी बस्ने ३९ वर्षिय मंगलसिंह राजवंशी, भद्रपुर ७ बस्ने ५२ वर्षिय नबिन कोईराला, भोजपुर तिवारीभञ्ज्याङ्ग २ स्थायी ठेगाना भई हाल गौरीगंज १ बस्ने ३७ वर्षिय बलराम विश्वकर्मा (सुशिल ), अर्जुनधारा ५ बस्ने ५३ वर्षिय लेखनाथ खनाल, बिर्तामोड ४ बस्ने ३४ वर्षिय गोविन्द वान्तवा ९मिलन०,बिर्तामोड १० बस्ने ७२ वर्षिय देवीप्रसाद पाण्डे, र बिर्तामोड ४ बस्ने ३२ वर्षिया रञ्जु राई , बाह्रदशी ५ बस्ने ५० वर्षिय लिलाधर राजवंशी र शिवसताक्षी ८ बस्ने ४२ वर्षिय भुपदेब कट्वाल रहेका छन् ।
९ जनामध्ये ७ जना पुर्पक्षका लागि र दुईजना धरौटी तिर्नं नसकेर जेल चलान भएका हुन् । त्यसैगरी मोरङ उर्लाबारी ४ बस्ने राजन विश्वकर्मा ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सो घटनामा संलग्न ६ जना फरार रहेका छन् ।

फरार हुनेमा गौरादह वडा नं ७ का वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी,भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका तत्कालीन नायव सुब्बा हरि तिवारी, ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका ७ बस्ने ५६ वर्षिय बेगप्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका – ११ स्थायी ठेगाना भई काँडाघारी काठमाण्डौ बस्ने ३२ वर्षिय देवबहादुर बिष्ट र भद्रपुर वडा नं ७ बस्ने ५३ वर्षिय प्रकाश कार्की रहेका छन् ।
उनीहरुले बिर्तामोड नगरपालिका वडा नं १ स्थित अदुवा पुलबाट सय मिटर पश्चिम अतिथि सदन जाने बाटोतर्फको महेन्द्र राजमार्गमा जोडिएको स्व. टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गालाई भू–माफियाहरुको गिरोहले संगठित रुपमा योजना बनाई ठगी गर्ने उद्धेश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी मृत्यु भईसकेका टुंगबहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई २०७७ असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट बाह्रदशी गाउँपालिका वडा नं ३ घर भई हाल बिर्तामोड २,चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा बनाएका थिए । उक्त वारेसनामामार्फत बिर्तामोड ४ बस्ने रञ्जु राईको नाममा २०७७ मंसिर २१ गते राजीनामा पास गरेका थिए ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेपछि १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर , अनुसन्धान समूह ,जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सो घटनामा संलग्न रहेका विभिन्न १० जनालाई फरक–फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
उनीहरुमाथि ठगी,सरकारी छाप दस्तखत किर्ते,आपराधिक लाभ तथा संगठित अपराध मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.