इटहरी,१९ बैशाख । बसको ठक्करबाट सुनसरीको दुहबी नगरपालिका–२ मा एक जना साइकल यात्रीको मृत्यु भएको छ । इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो ।
मृतकको पहिचान खुल्न सकेको छैन् ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । अस्पताल पु¥याउँदा बोल्न नसक्ने अवस्थामा रहेका ती पुरुषलाई चिकित्सकले राति १० बजे अस्पतालले मृत घोषित गरेको थियो ।
प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका–११ बस्ने ३० वर्षीय मुकेश सहनी तथा सह–चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ ।
बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।