दमक,१२ कार्तिक । दमकमा बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ ४;४५ बजे दमक नगरपालिका वडा नं ५ बजाज शोरुम अगाडी पूर्वपश्चिम राजमार्गमा लेटाङबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–०५३ प ७४३९ नम्बरको १५० सीसीको मोटरसाइकललाई प्र १–०१–००१ ख ४२९२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथर मेमेङ गाउँपालिका ९ घर भई हाल मोरङ लेटाङ ८ बस्ने वर्ष अन्दाजी ५४ का मंगलप्रसाद साउदेन घाइते भएका थिए ।
छातीमा चोट लागेर बाहिरी चोट नदेखिएका घाइते साउदेनलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि साँझ ५ः१० बजे बिराटनगर रेफर गरिएको थियो । घाइतेका आफन्तले बिराट टिचिङ अस्पताल बिराटनगरमा लगि उपचार गराउने क्रममा साँझ ६;५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
तीब्र गतिका कारण विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय अंकित पोखरेल रहेका छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकमा बुधबारराति निर्मल जलतर्फबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी टाउको र नाकमा गम्भीर चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। उपचारका क्रममा राति १ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ ।मृतक महेन्द्र मोरङ बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सदस्य हुन् ।