माङसेबुङमा अब लिम्बू भाषा पनि सरकारी कामकाजमा

इलाम ,१७ बैशाख । जिल्लाको माङसेबुङ गाउँपालिकाले आगामी महिनादेखि लिम्बू भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने भएको छ ।गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी जेठ १२ गतेदेखि नेपालीसँगै लिम्बू भाषालाई पनि कामकाजी भाषाको मान्यता दिने निर्णय गरेको हो। सोही दिन विशेष समारोहबीच लिम्बू भाषालाई औपचारिक रूपमा कामकाजी घोषणा गरिने अध्यक्ष राईले जानकारी दिए।

माङसेबुङ गाउँपालिकामा बहुसङ्ख्यक रूपमा बोलिने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन लागिएको अध्यक्ष राईले बताए । उनका अनुसार यसको कार्यान्वयनलाई सहजीकरण गर्न एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्त गरिसकिएको छ ।
‘हामीले आउँदो जेठ १२ गतेदेखि माङसेबुङमा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउने तयारी गरेका छौं। त्यसका लागि पाँचौँ तहको भाषिक सहजकर्ता करारमा नियुक्त गरिसकेका छौं,’ अध्यक्ष राईले भने ।

माङसेबुङ गाउँपालिकाको ‘भाषा, संस्कृति तथा ललितकलाको संरक्षण तथा विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ बमोजिम भाषिक सहजकर्ता नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताए ।
उनका अनुसार गाउँपालिकाको संगठन तथा व्यवस्थापन (ओएनएम) संरचनामै समावेश गरी उक्त पदमा नियुक्ति गरिएको हो। ‘भाषिक सहजकर्ताको दरबन्दी ओएनएममा समावेश गरी स्वीकृत भएपछि नियुक्त गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने । उक्त सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवाद तथा सहजीकरणको काम गर्नेछ ।

लिम्बू समुदायको बाहुल्यता रहेको माङसेबुङमा सो समुदायको भाषा संरक्षण र सम्मानका लागि नेपालमै पहिलो पटक लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गर्न लागिएको अध्यक्ष राईको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास रहेको छ ।यसअघि नै गाउँपालिकाले वि.सं. २०७५ मङ्सिर १३ गतेदेखि वडा नं. ५ मा लिम्बू भाषालाई कामकाजी रूपमा लागू गरिसकेको थियो। सो वडामा २०७६ सालमै एक जना भाषिक सहजकर्ता (सहायक चौथो) नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.