कमल ५ मा निशुल्क स्वास्थ्य शिविर, ३४९ लाभान्दित

दमक ,१६ बैशाख । झापाको कमल गाउँपालिका -५ वडा कार्यालयले आइतवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।वडा कार्यालयमा आयोजित शिविरमा दन्त,आखाँ सहित फिजिसियन गरि ३ सय ४९ जनाले निशुल्क स्वास्थ्य सेवा पाएका वडा सचिव अमृत साहले बताए । उनका अनुसार आखाँतर्फ २२९ जना , दन्ततर्फ ६३ र फिजिसियनतर्फ ५७ जनाले स्वास्थ्य सेवा पाएका छन् । आखाँ मध्ये ८० जनालाई भने चश्मा तथा विभिन्न रोगका विरामीहरुलाई औषधी समेत निशुल्क वितरण गरिएको सचिव साहले बताएका छन् ।
वडाको सिलिङ्ग वजेटबाट सञ्चालित सो शिविरमा आखाँ तर्फ दमकको विर्ता ज्योति आखाँ अस्पताल , दन्ततर्फ ओम शान्ति डेन्टल र फिजिसियनतर्फ दमक हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा कमल ५ वडासहित त्यस क्षेत्रका सर्वसाधारणहरु लाभान्दित भएका वडाअध्यक्ष एलवी विष्टले बताए । वडाले वडावासीलाई आफनै घरआँगनमा विशेषज्ञ स्वास्थ्य सेवा पुरयाँउन यस किसिमको कार्यक्रम सञ्चालन गरिआएको उनले बताए । त्यस अवसरमा वडाले शिविरमा सहयोग पुरयाँउने अस्पताललाई प्रंशसापत्र समेत प्रदान गरिएको थियो ।
शिविरमा ती अस्पतालसहित वडाको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सहयोग पुरयाँएका थिए ।

यसैबीच सो वडाको आधारभुत स्वास्थ्य केन्द्रमा आजनै हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन पनि शुरु गरिएको छ । स्वास्थ्य केन्द्रकी प्रमुख पवित्रा वर्देवाका अनुसार आज कार्यालयमा आउने सर्वसाधारणलाई हात्तीपाइले विरुद्धको औषधि वितरण गरिएको छ भने भोलि सोमबारदेखि बिभिन्न बिद्यालय र टोल टोलमा पुगेर औषधि वितरण गरिनेछ । स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने गरि वितरण गर्ने गरिएको छ ।
यसैगरि वडा कार्यालयको आयोजना तथा शुभारम्भ नेपाल दमकको सहजीकरणमा लागू पदार्थ दुव्र्यसन रोकथाम सम्बन्धी सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ ।
वैशाख १० गतेदेखि १३ गते सम्म वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि त्यस किसिमको सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । पछिल्लो समय युवाहरूमा लागूपदार्थ प्रयोग गर्ने सङ्ख्यामा वृद्धि हुदै गएपछि त्यस्तो समस्याबाट जोगाउन सचेतना कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष विष्टले बताए ।

Leave a Reply

Your email address will not be published.