बिराटनगरका एक व्यापारीका गोदामबाट पेस्तोल बरामद

9mm pistol, Gun weapon series, Modern U.S. Army handgun M9 close-up on wooden background. (Color Processed)

विराटनगर १३ बैशाख। अबैद्ध कारोवारमा संलग्न हुँदै आएका विराटनगरका एक व्यापारीको गोदाममा राजश्व अनुसन्धानको कार्यालयले छापा मार्दा पेस्तोल र दुई राउण्ड गोलि फेला परेको छ । केहिदिन अगाडी मात्रै भन्सार परिसरबाटै चोरी पैठारी गरेको कपडा पक्राउ परेपछि थप अनुसन्धान गर्ने भन्दै तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको हो ।

भन्सार क्षेत्रमा एजेन्टहरुसँग मिलेमतोमा समेत काम गर्दै आएका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
तस्करीको कपडा र हार्डवेयरका सामाग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर–७ धाडेवा रोडमा रहेको गोदाममा पुगेको थियो । गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको छ । तर, तस्करीका क्रममा रौनियारले आफ्नो समूहका व्यक्तिहरुलाई दिएर पठाउनका लागि पेस्तोल खरिद गरेको कतिपय जानकारहरुले बताएका छन् । पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए ।

कानुनी रुपमा गोदाम साहको देखिएपनि रौनियारले तस्करी गरेर ल्याएका सामान त्यहाँ राख्ने गरेको बताइन्छ । भन्सार एजेन्ट समेत रहेका रौनियारले चोरी पैठारी गरिएका सामान त्यहाँ राखेर इटहरीका लागि साहमार्फत पठाउने गरेको बुझिएको छ । प्रदेश र इटहरी प्रहरीले समेत तीनदिन अगाडी एक ट्रक कपडा नियन्त्रणमा लिएपछि चौतर्फी रुपमा अनुसन्धान गर्ने निकायलाई दवाव बढेको छ ।

Leave a Reply

Your email address will not be published.