दमक,२८ चैत । झापाका १५ वटा स्थानीय तह मध्ये अहिलेसम्म ७ वटा स्थानीय तहमा १२ वटा बारुणयन्त्र सञ्चालित छन् । पछिल्लो पटक शिवसताक्षी नगरपालिकाले आफै खरिद गरि एउटा बारुणयन्त्र भित्रयाँएको छ ।
योसंगै जिल्ला भित्र बारुणयन्त्र भएका स्थानीय तहहरुमा दमक नगरपालिकासहित गौरादह नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र कमल गाउँपालिका रहेका छन् । ती मध्ये गाउँपालिका तहमा भने कमलको मात्र बारुणयन्त्र रहेको छ । जिल्लाका ८ वटा स्थानीय तहमा अझै बारुणयन्त्र छैनन् ।
हालसम्म पनि बारुणयन्त्र नभएका स्थानीय तहमा कनकाई नगरपालिका,अर्जुनधारा नगरपालिका छन् भने गाउँपालिकातर्फ बुद्धशान्ति,गौरीगञ्ज, हल्दिबारी,कचनकवल र बाह्दशी ,झापा गाउँपालिका रहेका छन् । त्यहाँका स्थानीय पालिकामा आगलागीका घटना भए छिमेकी पालिकाको बारुणयन्त्र प्रयोग गरिआएका छन् ।
शिवसताक्षी नगरपालिकामा सोमबार मात्र एउटा बारुणयन्त्र खरिद गरि सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको आगलागीबाट हुन सक्ने जनधनको क्षतिलाई जोगाउनका लागि बारुणयन्त्र खरिदको पहिलो निर्णय गरेका थिए । त्यही निर्णय करिव दश महिनापछि कार्यान्वयनमा आएको छ ।
४५ सय लिटर क्षमताको सो बारुणयन्त्र खरिद गर्न नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा रु ६० लाख खर्च बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए ।