
दमक,२६ चैत । झापाको कमल गाउँपालिका ५ स्थित सिम्ले खेलमैदानमा सञ्चालन भएको प्रथम युनाईटेड सिम्ले गोल्ड कप- २०७८ क्षेत्रिय स्तरीय फुटबल प्रतियोगिताको उपाधि दमक ३ को चुलाचुली फूटवल क्लवले जितेको छ ।
आज भएको उपाधि खेलमा विजेता चुलाचुलीले मधुमल्ला फुटबल क्लव मोरङलाई २-० गोलको अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसंगै चुलाचुलीले नगद रु ५१ हजार एक सय ५१ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारयो भने उपविजेता टिमले रु ३१ हजार, १ सय ५१ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको थियो । विजेता,उपविजेता टिमका खेलाडीहरुलाई गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले पुरस्कार प्रदान गरेकी थिइन् ।
खेलभरिको हाईस्कोर सिरिजंघा फुटबल क्लव पथरीका खेलाडी जहरमान चेम्जोङ, बेस्ट गोल रक्षक चुलाचुली फुटबल क्लव दमकका कृष्ण क्षेत्री, म्यान अफ द सिरिज रोमन दनवार घोषित भए। घोषित खेलाडीहरुलाई नगद तथा ट्रफीबाट पुरस्कृत गरिएको खेल संयोजक आइतहाङ सम्बाहाम्फेले बताए ।
कलम गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रतियोगिताको दोस्रो पुरस्कारको राशी दमकको श्री अधिकारी सप्लायर्सले प्रायोजन गरेको थियो भने बिचित्र, फाइन स्टिकरले समेत सहकार्य रहेको थियो ।
सिम्ले यूनाईटेड क्लवको आयोजनामा गत चैत्र १८ गते देखि संचालन भएको फुटबल प्रतियोगितामा जम्मा आठ वटा टिमको सहभागिता रहेको थियो ।