दमक,२३ चैत । दमक जेसीजले आउदै गरेको नयाँ वर्ष २०८० को उपलक्ष्यमा क्यालेण्डरको बिमोचन गर्नुका साथै नयाँ सदस्यका लागि जेसीज सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
जेसीज सचिवालयमा बुधबार दुई चरणमा संक्षिप्त कार्यक्रम गरि क्यालेण्डर बिमोचनसहित तालिम सञ्चालन गरिएको अध्यक्ष मुकेश अग्रवालले बताए ।अध्यक्ष अग्रवालका अनुसार पहिलो चरणको क्यालेण्डर विमोचन कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी रहेका थिए भने दमक जेसीजका पूर्व अध्यक्षहरु नरेन्द्र बराल, नेत्र चम्लागाई,घनश्याम कोइराला, चन्द्र खत्री,कमल कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
जेसीजले संस्थागत रुपमा नयाँ बर्षमा बर्षेनी गतिविधिमूलक क्यालेण्डर प्रकाशन गरिआएको पूर्व अध्यक्ष चन्द्र खत्रीले बताए । क्यालेण्डर निकाल्न दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष राजेन्द्र विमलीको संयोजकत्वमा एक प्रकाशन समिति गठन गरिएको थियो ।
यसैगरि, दोश्रो चरणको कार्यक्रम अन्तर्गत नयाँ सदस्यका लागि प्रि इन्डक्सन तालिम सञ्चालन गरिएको थियो । दमक जेसीजका संस्थापक सदस्य पदम कोइरालाको प्रमुख आतिथ्यतामा भएको तालिममा जेसीजका ४० जना नयाँ सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा पूर्व अध्यक्ष समेत रहेका जेसीज सिनेटर घनश्याम कोइरालाले सहजीकरण गरेका थिए ।
