झापा, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा संसदीय दलको नेतामा बिहीबार मात्र निर्वाचित भएका बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साईतमा ३६ वर्षे बालेनलाई प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दल (रास्वपा)को नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
२०७२ मा जारी नेपालको संविधान लागू भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो। मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि पहिलोपटक हो।
सातवटा शंख बजाएसँगै शपथग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्तिवाचन गरिएको थियो। स्वस्तिवाचनलगत्तै १०८ जना भिक्षुहरूले मंगलपाठ गरेका थिए।
काठमाडौं महानगरको प्रमुख (मेयर)बाट राजीनामा दिएर बालेन फागुन २१ को चुनावमा भाग लिएका हुन्। उनी पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन्।
झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बालेन निर्वाचित भएका हुन्।
प्रधानमन्त्रीमा बालेनले सपथ खाए लगत्तै पाँच महिलासहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । रास्वपाका धेरै नेताको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाएका छन्। जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–१ बाट निर्वाचित भएका थिए ।
मन्त्री बनेकाहरू सबैभन्दा बढी बागमती प्रदेशका छन् । बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री, सम्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा.विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोविता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।
खनाल काठमाडौँ–६, श्रेष्ठ, काठमाडौँ–८, पोखरेल काठमाडौँ–५, डा.तिमिल्सिना नुवाकोट–१ र गौतम चितवन–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गण्डकी प्रदेशबाट ३ मन्त्री भएका छन् । स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुदन गुरुङ (गृहमन्त्री) र गनेस पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) बनेका हुन् ।
वाग्ले तनहुँ–१, गुरुङ गोरखा–१ र पौडेल कास्की–१ बाट निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशबाट सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास मन्त्री बनेका छन् । उनी रुपन्देही–१ बाट निर्वाचित सांसद हुन् ।
कर्णाली प्रदेशबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । सुदूरपश्चिम प्रदेशबाट २ मन्त्री बनेका छन् । मन्त्री बन्ने दुवै कञ्चनपुरका र समानुपातिक प्रणालीतर्फका सांसद हुन् । गीता चौधरी कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन् भने प्रतिभा रावल भूमि व्यवस्था तथा सहकारी निवारण र वन तथा वातावरण मन्त्री बनेकी छन् ।
कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री बनेकी छन् । मधेस प्रदेशबाट महोत्तरी–२ बाट प्रत्यक्ष जितेका दीपककुमार शाह श्रम रोजगार मन्त्री बनेका छन् ।