दमक ,७ चैत । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले झापाका विभिन्न क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सफलता हासिल गरेकोमा जिल्ला कांग्रेसले बधाई शुभकामना दिएको छ।
पार्टीका जिल्ला सभापति देउकुमार थेवेले विहिबार बधाई शुभकामना निकाल्दै झापाको विभिन्न क्याम्पसमा हालै भएको स्ववियू निर्वाचनले नेविसंघलाई मात्र नभएर समग्र पार्टीलाई सफलता प्राप्त भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् ,- ‘नेविसंघले जिल्लामा पाएको यो महत्वपूर्ण सफलता भएको भन्दै निर्वाचनमा अहोरात्र मेहनत गर्ने कांग्रेसका नेतागण, विद्यार्थी सङ्घका समर्पित कार्यकर्ता, प्राध्यापक एवं शिक्षक वर्ग, शुभचिन्तक विद्यार्थी तथा समस्त मतदाताहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
साथै, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिने निर्वाचन समिति तथा सुरक्षा निकायकाहरू प्रति समेत सभापति थेवेले हार्दिक आभार प्रकट गरेका छन् ।
उनले यस निर्वाचनले लोकतान्त्रिक प्रक्रियाप्रति विद्यार्थी वर्गको प्रतिबद्धता, पार्टी एकताको महत्व, तथा स्वस्थ प्रतिस्पर्धाले सफलता दिलाउने स्पष्ट सन्देश दिएको स्पष्ट पारेका छन् । उनले पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्ताहरू एकताबद्ध भई अघि बढ्दा अझै ठूला सफलताहरू हात पार्न सकिन्छ भन्ने विश्वास यस जितले पुनः स्थापित गरेको जारी शुभकामनामा भनेका छन् ।
हाम्रो साझा लक्ष्य लोकतान्त्रिक मूल्यमान्यता एवं विद्यार्थी हकहितका पक्षमा सशक्त रूपमा लाग्नु पर्ने नै ध्येय भएको उल्लेख गर्दे उनले सबै विद्यार्थी नेताहरूले यो जितलाई क्याम्पसमा जिम्मेवार, गतिशील र आदर्श नेतृत्व प्रस्तुत गर्ने विश्वास लिएका छन् ।झापाका १३ मध्ये ९ क्याम्पसमा नेविसंघले स्ववियू जितेको छ ।
झापाका १३ मध्ये ९ क्याम्पसमा नेविसंघको जित
झापाका १३ वटा क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघले नौ वटा क्याम्पसमा सानदार जित हासिल गरेको छ ।ती मध्ये ९ वटा क्याम्पसहरुमा नेविसंघले जित हासिल गरेका छन् भने एमाले निकट अनेरास्ववियूले ३ र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसंगठनले जितेको छ ।
घोषित नतिजा अनुसार जिल्लाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा निलम कार्की , दमक बहुमुखी क्याम्पसमा भुपेन्द्र बस्नेत ,कन्काइ बहुमुखी क्याम्पस सुरुङामा बाशुदेव निरौला ,कन्काइ आदर्श क्याम्पस बिर्तामोडको अध्यक्षमा किरण गुरुङ निर्वाचित भएका छन् ।
यसैगरि, विर्तामोडस्थित इन्द्र चन्द्र (देवि) क्याम्पसको अध्यक्ष श्रीजित ढुंगाना ,शनिस्चरे बहुमुखी क्याम्पसको अध्यक्षमा बिशाल थापा ,काकरभिट्टा बहुमुखी क्याम्पसमा सुरज राई, गौरादह कृषि क्याम्पसमा स्वर्णिम अधिकारी र गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा रोशन यादब निर्वाचित भएका छन् । यसअघि अनेरास्ववियूले जित्दैआएका सुरुंगा,मेची लगायतका क्याम्पसमा नेविसंघले स्ववियू जितेको छ ।