कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने

झापा,७ चैत । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ ।सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय गरेको हो ।

विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो ।पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ हो ।पार्टीका संरचनाहरूले भवन बनाउने नाममा, पार्टीलाई सहयोग वापत लगायत विभिन्न शीर्षकमा शुल्क बढी लिने समेत गरेका थिए ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले कांग्रेसबाट पालिकामा जितेका जनप्रतिनिधिको लेबी रकम घटाउने निर्णय गरेको छ ।
कांग्रेसले पालिका अध्यक्ष-उपाध्यक्ष, नगरका प्रमुख र उपप्रमुखको लेबी पारिश्रमिकबाट २० बाट १० प्रतिशतमा झारिएको छ । वडाध्यक्षको हकमा १० बाट घटाएर ५ प्रतिशतमा लेबी रकम कायम गरिएको छ ।

प्रदेश समितिलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमनमा खटाउने निर्णय गरिएको छ ।‘क्रियाशील सदस्यता नवीकरणमा प्रदेश समितिको भूमिका बढाउन प्रदेश समितिलाई अनुगमनमा खटाउने निर्णय गरेका हौं,’ समिति सदस्य रसाइलीले भने ।
क्रियाशील सदस्यता स्थानान्तरण गर्दा बसाइँसराइ र मतदाता परिचयपत्र पेस गरेको व्यक्तिलाई मान्यता दिने निर्णय गरिएको छ ।दुवैतिरका जिल्ला सभापतिले स्वीकृति दिएपछि मात्रै क्रियाशील सदस्यता स्थानान्तरको हुने व्यवस्थालाई संशोधन गरिएको छ ।

अनुशासन समितिले समयमा निर्णय नगर्दा क्रियाशील सदस्यता नवीकरण हुन नसकेका व्यक्तिका सन्दर्भमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवा, शीर्ष नेता र अनुशासन समितिका सदस्यसँग छलफल गरेर छिटो टुंगाउन पहल गर्ने निर्णय भएको छ ।

बैठकले क्रियाशील सदस्यताको कार्ड अपुग भएका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका जिल्लामा थप पठाउने निर्णय भएको छ ।सदस्यता व्यवस्थापन समितिले विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय लिएको छ ।

Leave a Reply

Your email address will not be published.