भद्रपुर,११ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम भद्रपुर -झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डुरुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुना टोली भुटानविरुद्ध गोल ग¥यो । पेनाल्टी एरियानजिकै आर्मीले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रिकिकबाट सिधै जाली चुमाएका थिए ।
यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोक्किएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए ।
सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटानले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनुप¥यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो ।
जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।बिहीबारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।