दमक,९ फागुन । यहाँस्थित दमक उद्योग बाणिज्य संघले आज आफनै कार्यालयमा आयोजनामा गरेको महिला तथा पुरुषमा हुने क्यान्सरसम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १ सय ६४ जनाले सेवा लिएका छन् ।
महिलाहरुको पाठेघरमा हुने क्यान्सर र महिला पुरुष दुवैमा नाक, कान, घाँटी तथा मुखमा हुन सक्ने क्यान्सर रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य परीक्षणसहित परामर्श प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविरमा महिला ,पुरुष दुवै गरि १ सय ६४ जना लाभान्वित भएका छन् ।
संघको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित शिबिरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर परीक्षणमा १ सय १२ जना र नाक, कान, घाँटीमा हुने क्यान्सर परीक्षणमा ५२ जनाले स्वास्थ्य जाँच गराएको संघका अध्यक्ष गोपाल गुरागाईंले बताए । उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा ५ जना महिलामा पोजेटिभ देखिएकाले उनीहरुलाई थप परामर्श गर्नु पर्ने चिकित्सकहरुले सुझाव दिएका थिए ।शिविरमा बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राबिधिक सहयोग रहेको थियो ।
ब्यापार ब्यवसायमै सधै ब्यस्त रहने ब्यवसायीहरुलाई लक्षित गरेर संघले यस किसिमको शिविर आयोजना गरिएको संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले बताए ।
उनका अनुसार परीक्षण गरिएकाहरुमा देखिएको समस्याको थप परीक्षण वा उपचारका लागि उक्त अस्पतालले केहि सहुलियत समेत पाईने गरी ब्यवस्था मिलाईएको छ ।
शिविरमा अस्पतालका बिषेशज्ञ डाक्टरहरु डा. आलोक ठाकुर, डा. कुशेस्वर शाह र डा. शर्मिला नेपाली लगायतको टोलीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।