झापामा २७ बालबालिकासहित ६१६ नयाँ क्षयरोगी

दमक ,४ फागुन । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए  । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् ।
स्रोत व्यक्ति दासका अनुसार चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेका छन् । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेका उनले बताए ।
आर्थिक वर्ष २०७९-८० मा एक हजार ४५ र आव २०८०-८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताए । “समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको सङ्ख्या अझै बढ्छ”, उनले भने, “सरुवा रोग भएकाले विशेष खोजपड्ताल अभियान चलाउनु जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उनले बताए ।
जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या धेरै रहेको स्रोतव्यक्ति दास बताउनुहुन्छ । जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम दिने गरिएको छ ।
सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published.