ओली आफनो निर्वाचन क्षेत्रमा सक्रिय

दमक,३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अघिल्ला निर्वाचनको तुलनामा यसपटक आफ्नै निर्वाचन क्षेत्रमा बढी सक्रिय भएका छन् । यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका छन् ।

पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका चुनौतीका कारण ओली आफ्नै क्षेत्रमा बढी केन्द्रित भएका हुन् । गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ फर्किएका ओली आइतवार फेरि झापा आएका हुन् । काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी आफनो निर्वाचन क्षेत्रमा आएका एमाले झापाले जनाएको छ ।

आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमान्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन्। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ । हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ ।

एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११ः५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम आयोजना गरिएको छ ।
यी सबै स्थानमा ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण मिलाइएको अध्यक्ष पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.