झापा, ३ फागुन । कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्लाका १५ पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गौरीगञ्ज गाउँपालिका १५औँ स्थानमा रहदै अन्तिम भएको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा नतिजा अनुसार ७१ अंक प्राप्त गर्दै भद्रपुर झापाको पहिलो पालिका बनेको हो । अन्तिम बनेको गौरीगञ्ज गाउँपालिकाले ३३.९ अंक प्राप्त गरेको छ ।पहिलो र अन्तिम बनेका दुबै पालिकामा कांग्रेसको नेतृत्व छ ।
आयोगको मूल्यांकनमा ६१ अंकसहित गौरादह नगरपालिका दोस्रो, ६०.७ अंकसहित शिवसताक्षी नगरपालिका तेस्रो र ६० अंकसहित हल्दिबारी गाउँपालिका चौथो भएका छन् । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका समान ५८.९ अंकसहित पाँचौं, बुद्धशान्ति गाउँपालिका ५७.२ सहित छैटौँ र ५४.२ अंकसहित दमक नगरपालिका सातौं बनेको छ ।
त्यसैगरी बिर्तामोड नगरपालिकाले ५३.४, कनकाई नगरपालिकाले ५२.८ अंक, कमल गाउँपालिकाले ५१.३ अंक र अर्जुनधारा नगरपालिकाले ४७.९ अंक प्राप्त गरेका छन् । आयोगले सार्वजनिक गरेको तथ्यांकमा कचनकवल गाउँपालिका ४६.३ अंक र मेचीनगर नगरपालिकाले ३९.२ अंक प्राप्त गरेका छन् ।
आयोगले १० सूचकांकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ । आयोगले पालिकाले गरेको खर्च, लेखा परीक्षणको अवस्था, बेरुजु, स्थानीय सञ्चित कोष, व्यवस्था र प्रयोग, आवधिक योजना , राजस्वको विभाजन लगायत सूचकमा केन्द्रित रहेर मूल्यांकन गर्ने गर्दछ ।
आयोगले तय गरेको सूचकांकका आधारमा असार १० गतेभित्र बजेट ल्याएनल्याएको, असार ३० भित्र बजेट पास गरेनगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर लिएनलिएको पर्दछ । विशेष गरेर आयोगले लेखा र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकनको आधारमा केन्द्रित रहेर नतिजा प्रकाशित गर्दै आएको छ ।