गौरीगञ्ज,२७ माघ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब ६ दशक पछि बल्ल बसपार्क निर्माण प्रक्रिया शुरु भएको छ ।
बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजना झापाबाट टेण्डर मार्फत रु ४२ लाख ७० हजार २ सय ५६ रुपैयाँ वजेट विनियोन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ ।
करिब रु ८ करोड रुपैयाँको लागतमा निर्माण हुने बसपार्कको डिपिआर अनुसार पहिलो चरणमा वस पार्कको काउण्टरको भवनको शुक्रवार गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गरिन् ।
जिल्लाकै पुरानो बजार मानिने यस गौरीगञ्ज बजार वर्षाैदेखि आधुनिक बसपार्कको आवश्यकता पुरा हुन सकेको थिएन । स्थानीय स्रोत साधन र प्रदेश तथा केन्द्रको बजेटवाट प्रारम्भिक कार्यमा डिपिआर बनेको थियो । २०१८ सालतिर तत्कालिन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिदै आएको र सोहि स्थानमा बसपार्क निर्माण शुरु गरिएको अध्यक्ष राजवंशीले बताईन् ।
टहरा ,शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं. ६ का वडाध्यक्ष बद्रीनारायण यादवले उल्लेख गरे ।
गौरीगञ्जवाट दैनिक रुपमा काठमाडौ लगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दुरीमा सञ्चालन हुदैआएको बस व्यवस्थित बसपार्क नहुदाँ सडक किनारामा पार्किङ्ग गर्न वाँध्यता रहेको वडा अध्यक्ष यादवले बताए ।
स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगञ्ज समेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोनतति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाको रुपमा स्थापित हुने विश्वास गरिएको झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाका अध्यक्ष तथा पूर्व वडाअध्यक्ष मखना महतो बताउँछन् ।