नाबालकसहित बेपत्ता महिला मृत फेला

फिदिम,१५ माघ । माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर नदी किनारमा भेटिएको हो ।
आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी उनी साझसम्म नफर्केपछि उनका श्रीमान् डिल्ली चापागाईँले निवेदन दिएको प्रहरी नायब निरीक्षक लिम्बूले बताए ।
चापागाईँले बोक्ने मोबाइल र लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।यस्तै, २५ दिनका नाबालक छोरा होमप्रसाद चापागाईँको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.