मोरङ,१३ माघ । नेकपा एमाले प्रदेश १ ले जनताको बजेटलाई रोकेर प्रदेश सरकारले मन्त्रालय भागवण्डा गर्न नहुनेमा जोड दिएको छ।
विराटनगरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले टालाटुली सरकारले जनताको विकास बजेट रोकेर मन्त्रालय भागवण्डा गर्न लागेको खबरमा आपत्ति जनाउदै त्यस्तो चेतावनी दिएको हो ।
बैठकपछि संचारकर्मीसंग प्रतिक्रिया दिदैं नेता बुद्धिकुमार राजभण्डारीले बैठकले यससंगै विभिन्न ७ वटा निर्णय गरेको बताए।
मन्त्रालयलाई पछिल्लो समय कार्यकर्ता भर्ती केन्द्रका रुपमा अघि नबढाउन सुझाव दिदैं बैठकले जनताको विकास बजेट रोकेर मन्त्रालय भाग पुराउने काम नगर्न चेतावनी दिएको छ।
उनले भने, ‘हामी मन्त्रालय फुटाउन नहुनेमा अडिग छौँ। सरकारले बजेटलाई रोक्दै टालाटुली सरकारको आयु मात्र थप्ने कार्य रोकोस्।’
राजभण्डारीका अनुसार विगतको सरकार र करिब ३ महिनाको वर्तमान सरकारको गतिबीधि र बजेटको कार्यान्वयन गर्न पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको बताए।
समितिले एमाले सरकारले पास गरेको बजेटलाई वर्तमान सरकारले कसरी कार्यान्वयन गरिरहेको त्यसबारे खोजबिन गर्नेछ जसमा जीवन घिमिरे, जगदीश कुशियत, तुलसी न्यौपाने र बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन्।
राजेन्द्रकुमार राई नेतृत्वको सरकारले करिब ३ महिनाको समय वितिसक्दासमेत संसद आव्हान नगरेकोमा बैठकले आपत्ति जनाएको छ। राजभण्डारीका अनुसार जनताको भावना र आवाज राख्ने स्थल चाडै सुचारु गर्न बैठकले सुझाव दिएको छ।