प्रदेशमा कृषि उत्पादन र उत्पादत्वमा बृद्धि

दमक,१० माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पुँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सिर्जना भएको सहभागीले बताएका छन् ।
सो परियोजनाको प्रदेश कार्यान्वयन एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चकलाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।
परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैँची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कूल रु १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले यस प्रदेशमा कृषिका ५२ वटा ब्लक र पशुका २९ वटा ब्लक रहेको प्रष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए ।
तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालु आव दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला रु नौ करोड ८७ लाख ५२ हजार र अलैँची रु १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैँची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिँदै यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको जानकारी दिए । उनले यहाँ पनि अलैँचीमा सुपर जोनमा जानुपर्ने सुझाव दिए ।
परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिँदै बङ्गुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको बीउमा आत्मनिर्भर भएकोमा खुसी व्यक्त गरे । उनले कोशी क्षेत्रमा खेर गएको बालुवा जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको औल्याएका थिए ।
सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सिर्जना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published.