त्रिभुवन आर्मीे झापा महिला गोल्डकपको फाइनलमा

दुधे, १० मंसिर । चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले त्रिभुवन आर्मीे फुटबल क्लब झापाको दुधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आर्मीले शनिबार एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब आर्मीसँगको पराजयसँगै सेमिफाइनलबाटै बाहिरिएको छ । उपाधिको दाबेदार मानिएको पुलिसले दुधे रंगशालामा अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको ५१ औँ मिनेटमा चन्द्राले गरेको प्रहार नै खेलमा निर्णायक बन्यो । बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथबाट रिबाउन्स भएपछि चन्द्राले गोल गरेकी थिइन् ।
खेलको ४४ औँ मिनेटमा आर्मीका चन्द्राको प्रहार पुलिसकी गोलकिपर उषा नाथले मुस्किलले बचाइन् । ४९ औँ मिनेटमा बिमला चौधरीको प्रहार पुलिसकी गोल किपरले विफल बनाइन् ।
खेलको आठौँ मिनेटमा पुलिसकी रेखा पौडेलको प्रहार आर्मीकी गोलकिपर कविता विकले पञ्च गरेर बचाइन् । खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका बिमला विक घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.