गौरादह आँखा अस्पतालको उद्घाटन

गौरादह,३ माघ । झापाको गौरादहमा आँखा अस्पताल सञ्चालनमा आएको छ । गौरादह– २ स्थित गौरादह बजारमा आँखाको प्राथमिक उपचारदेखि शल्यक्रिया लगायतका सेवा प्रदान गर्ने गरि स्थापना गरिएको गौरादह आँखा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
गौरादह आँखा अस्पताल संचालनमा ल्याएसँगै यस क्षेत्रका स्थानीयले आँखा सम्बन्धी उपचारको सुबिधा लिन सक्ने भएका छन् । कोशी प्रदेशका सभामुख अम्बर बिष्टले आज एक कार्यक्रमका बिच गौरादह आँखा अस्पतालको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै प्रदेश सभामुख बिष्टले ग्रामीण क्षेत्रमा सञ्चालनमा ल्याइएको अस्पतालको निकै महत्वपूर्ण भुमिका रहने बताए ।‘गौरादहमा सञ्चालनमा ल्याइएको आँखा अस्पताल आफैंमा महत्वपूर्ण भुमिकामा रहन सक्छ, गाउँगाउँमा अस्पताल आजको आवश्यकता हो’, सभामुख बिष्टले भने ।
कार्यक्रमका विशिष्ट अतिथि तथा गौरादहका नगर प्रमुख छत्रपति सुवेदीले अस्पतालहरु स्थानीय ऐन अनुसार नगरपालिकामा अनिवार्य रूपमा दर्ता हुनुपर्ने औंल्याए ।‘दर्ता नगरी अस्पताल संचालमा ल्याउँदा कानुनी झन्झटको सामना गर्नुपर्ने हुन्छ । अस्पताल तुरुन्तै दर्ता गराउनुहोस् ।’, उनले भने । गौरादहमा आँखा अस्पतालको अनिवार्य आवश्यकता रहेको बेला गौरादह आँखा अस्पतालको स्थापना गरिएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख सुवेदीले अस्पतालले सस्तो र सुलभ दरमा सेवा प्रदान गर्न आग्रह गरे ।
नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले निजी क्षेत्रबाट संचालित भए पनि गौरादह आँखा अस्पतालले गौरादहको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा राखे । पछिल्लो डेढ वर्षभित्रमा गौरादहले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण फड्को मारेको उल्लेख गर्दै सरकारी अस्पतालको रूपमा नगर अस्पताल र निजी क्षेत्रको लगानीमा मेडिम्याक्स अस्पताल संचालनमा आएको उल्लेख गर्दै गौरादह आँखा अस्पतालले बीमा सेवा सहितको अस्पतालको रूपमा विकसित हुँदै जानुपर्ने सूझाव दिए ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष गोपाल प्रसाद कोइराला, वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र निरौला, राप्रपा नगर अध्यक्ष शान्तिराम पौडेल, इप्रका प्रमुख चन्द्रीका कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन समारोह कै सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभामुख अम्बर विष्ट, मेयर छत्रपति सुवेदी तथा अन्य अतिथिहरुको आँखा परीक्षण गरिएको थियो । उद्घाटन समारोह कै अवसरमा ३ सयभन्दा बढीले गौरादह आँखा अस्पतालबाट आँखा जाँच गराएका छन् ।अस्पतालका अध्यक्ष ध्रुब गिरीले १ महिनासम्म आँखा उपचारमा निशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए ।
अस्पतालमा कोशी आँखा अस्पतालका चिकित्सक डा. प्रशान्त चौधरी लगायतको प्राबिधिक टोलीले चिकित्सकीय सेवा प्रदान गर्ने गिरीले बताए ।

Leave a Reply

Your email address will not be published.