झापा, २४ पुष । पहाडी क्षेत्रमा हिमपात परेसंगै पूर्वमा जाडो बढेको छ । कोशी प्रदेशको पाँचथर ,ताप्लेजुङ, संखुवासभालगायतका जिल्लामा हिमपात भएको हो । पाँचथरको फालेलुङसँगै आसपासका क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेको छ । मंगलवार साँझ फालौट, चारराते,तीनसिमाना, सुर्केथामसँगै इलाम पाँचथरको सीमावर्ती सन्दकपुर क्षेत्रमा हिउँ परेको हो ।
यी क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेको चाररातेका पर्यटन व्यवसायी डिल्ली केरुङले जानकारी दिए । केरुङका अनुसार हिउँ परेपछि त्यस क्षेत्रका चौँरीखर्क सेताम्मे भएका छन् । बिहान उज्यालो हुनासाथ घाम लागेकाले चौँरीका बथान हिउँले ढाकेका चौरमा निस्कँदा निकै रमणीय देखिएको थियो ।साँझ ७ देखि ९ बजेसम्म हिउँ परेको थियो । हिउँसँगै हल्का वर्षा भएकाले पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा झनै चिसो बढेको छ ।
सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।
यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । सामान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।
केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको संख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।
उता संखुवासभाको माथिल्लो क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गएरातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।
उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतका क्षेत्रमा रातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएको जनाइएको छ ।