झिलझिले, २० पुस । जिल्लाको शिवसताक्षी ११ स्थित धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको नयाँ नेतृत्व चयन गर्नका लागि यहि पुस २७ गते निर्वाचन हुने भएको छ ।
आज सम्पन्न बार्षिक साधारणसभाले निर्वाचनको मिति तय गर्नुका साथैं पाँच सदस्यीय एक निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।
निर्वाचन सम्पन्न गर्न दिपककुमार न्यौपानेको संयोजकत्वमा जयश्वोर आङदेम्बे, यादव चापागाई, गोविन्द काफ्ले र डिल्ली खतिवडा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको जनाईएको छ ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता तथा शिबसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ (रोशन) थोप्राको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहभागिहरुले पूर्वकै यस पवित्र धार्मिक तथा पर्यटकीयस्थलको महत्व बोकेको सताक्षीधामको संरक्षण गर्दै यसको विकासमा जोड दिन खाँचो रहेको औल्याएका छन् ।
नगर प्रमुख थोप्राले ऐतिहासिक महत्व बोकेको यस स्थलको प्रचारप्रसार गरि दीर्घकालिन योजनाहरु बनाउन जरुरी भएको र त्यसमा सवैले सहयोग पुरयाँउनु पर्ने जोड दिए । त्यस्तैं पूर्व नगर प्रमुख चन्द्रकुमार शेर्मा, पूर्व उपप्रमुख भोजकुमारी नेपाल, सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका पूर्वअध्यक्ष तथा पूर्वसांसद तारासम योङया, सताक्षीधाम मन्दिर समितिका संस्थापक अध्यक्ष तथा झिलझिलेका अग्रज ब्याक्तित्व बयोबृद्ध देउकुमार राई, पूर्वअध्यक्ष प्रसाद सुब्बा, ११ का वडाध्यक्ष बहादुर आङ्बो, ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, शिबसताक्षी–७ का पूर्व अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का नेता केहरसिंह बस्नेत, नेपाली काँग्रेसका नेता भक्ति सिटौला, सामाजिक व्याक्तित्व यज्ञप्रसाद ओली लगायत धार्मिक, राजनीतिक, सामाजिक र उद्यमी–व्यवसायीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो ।
साधारणसभामा संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष बोखिमले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैवीच, नयाँ नेतृत्वका लागि यसपटक हालका अध्यक्ष बोखिम, उपाध्यक्ष उदयप्रकाश राई वीच प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । दुवै उम्मेदवारले अध्यक्षमा उठ्ने घोषणा गरि मतदाताहरु माझ पुगिरहेका छन् ।