कांग्रेसको अभिभावकीय भूमिकालाई शसक्त बनाउन जोड

दमक ,२० पुस । राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको अभिभावकीय भूमिकालाई शसक्त बनाउनु पर्नेमा दमकमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
कांग्रेसले सञ्चालन गरेको सय दिने विशेष सांगठानिक अभियान अन्तर्गत झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले देशलाई बिकास र समृद्धितर्फ लैजान कांग्रेसले निर्वाह गरिरहेको भूमिकालाई थप शसक्त बनाउनु पर्नेमा जोड दिए । वक्ताहरुले कार्यकर्ताहरुको भावना अनुरुप नेतृत्व तहदेखि हरेक कार्यकर्ताहरुले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु पर्ने औल्याए ।
दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दे कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कांग्रेसले सञ्चालन गरेको अभियानका माध्यमबाट पार्टीलाई नयाँ उर्जा भरेको बताए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनले कांग्रेस कोशी प्रदेशले कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदीसम्म सञ्चालन गर्ने पदयात्राले तराईदेखि हिमालसम्मका नागरिकहरुलाई जोड्ने माध्यम भएको स्पष्ट पारे ।
गठबन्धन सरकारको सहमतिको पहिलो एजेण्डा संविधानमा सुधार रहेको चर्चा गर्दै उनले राष्ट्रियसभालाई पूर्ण समानुपातिक बनाएर प्रतिनिधिसभामा समानुपातिक ब्यवस्था संसोधन गर्ने तयारी रहेको विचार राखे ।
पुस २४ गतेदेखि शुरु हुने कचनकबल–सगरमाथा जागरण अभियानमा सबैलाई सहभागी हुन आह्वान गर्दै नेता थापाले भने , –‘ पार्टीले शुरु गरेको यस अभियानका क्रममा चौध जिल्लाको सांगठानिक अवस्था, जनप्रतिनिधिको भूमिका, कांग्रेस सरकारमा रहँदा ल्याइएको गौरबका योजना, पार्टीका अग्रज एवं शहीद परिवारको राजनीतिक योगदान र पारिवारिक अवस्था लगायतका विषयमा अन्तरकृया हुने भएकाले पनि यसले पार्टीमा उर्जा आउने छ ।’
उनका अनुसार उक्त अभियान सातमहिनापछि सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सातराष्ट्रका विषयविज्ञहरु राखेर छलफलपछि समापन हुनेछ । कोशी प्रदेशभरमै सयदिने अभियान झापामा उत्कृष्ठ भएको भन्दै नेता थापाले प्रशंसा गरे ।
पार्टीका झापा क्षेत्र नम्बर ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूले पार्टीका अभियान र कार्यक्रमहरुलाई सशक्त रुपमा सञ्चालन गर्न सके मात्रै लक्ष्य अनुसारको उद्धेश्य प्राप्ति हुने औल्याईन् ।
कार्यक्रममा पूर्व आमन्त्रित केन्द्रीय सदस्य दिलिप राई, झापाका सभापति देउकुमार थेवे, उपसभापति केशव पाण्डे लगायतले पार्टीद्धारा सञ्चालित अभियान तथा कार्यक्रमहरुको विशेष महत्व रहने भएकाले यसलाई लक्ष्य अनुसार जनस्तरसम्म पुरयाँनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति भण्डारीले क्षेत्र नं ५ मा सञ्चालत अभियानको बारेमा विस्तृत जानकारी गराउँदै पार्टी नेतृत्वको भनाई र गराईमा एकरुपता हुनुपर्ने, कार्यकर्ताहरुको भावनाको सम्बोधन गरिनुपर्ने, सरकारका काम कारवाहीहरु पार्टीसँग जोडिएर अघि बढाउनु पर्ने, कार्यकर्ता प्रशिक्षण र परिचालनका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने जस्ता सुझावहरु कार्यकर्ता पक्तिंबाट आएको जानकारी गराएका थिए ।

कार्यक्रममा पार्टीका झापा क्षेत्र नम्बर ५ (ख) का सभापति रवि केसी न्यौपानेले पार्टीका शीर्ष नेताहरुबीचको आपसी बेमेल र फरक मतका बिषयलाई लिएर कार्यकर्ताहरुको तल्लो पक्तिंसम्म नकारात्मक असर परिरहेकाले त्यस तर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published.