
इलाम ,२४ असार । कोरोना संक्रमणबाट इलामको माङसेबुङ गाउँपालिकामा आज एकैदिन एक दम्पत्तीको मृत्युभएको छ । यसरी मृत्यु हुने माङसेबुङ गाउँपालिका- ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा लावती रहेका छन् ।
टेकबहादुरको विहीबार विहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए । लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ ।
उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
इलाममा थप २२ जनामा कोरोना संक्रमण
यसैगरि इलाममा विहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ । संक्रमितमध्ये १ हजार ७ सय २१ जना निको भइसकेका छन् भने संक्रमितमध्ये ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३ सय ७१ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
१० वटा स्थानीय तह रहेको इलाममासबैभन्दा बढी इलाम नगरपालिकामा ६ सय ७५ जना संक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् ।