विपन्न महिलालाई स्थानीय युवाहरुले बनाईदिए घर

कमल,११ असार । कमल -५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलालाई स्थानीय युवाहरुले घर निर्माण गरिदिएका छन् ।
उनको घर र पारिवारिक अवस्थाका बिषयमा सञ्चार माध्यमहरुमार्फत खबर बाहिर आएपछि कमल गाउँपालिकाका केही मनकारी युवाहरुको समूहले तीन दिनभित्रै स्थानीय संगीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएका हुन् ।
संगीताको घर परिवारको अवस्थाबारे सञ्चारमाध्यमहरु मार्फत बाहिर आएपछि केही मनकारी युवाहरुले थाहा पाए । उनको अवस्थाबारे जानकारी पाएपछि ४ दिन अघि संगीताको घरमा पुगेका कमल -५ का युवा शैक्षिक तथा सामाजिक व्यक्तित्व एकराज प्याकुरेलले भने– ‘हामी यो ठाउँमा आयौं, अवस्था साँच्चैनै दयनीय देख्यौं र अग्रज दाईहरु र साथीभाईका बीचमा सरसल्लाह भयो, संगीताको घरका लागि हामीले स्टीमेट निकाल्यौं बर्खा लागिसकेको अवस्थामा लामो समय कुर्न सक्ने कुरा भएन तत्कालै हामी एक्सनमा गयौं, तीन दिनमा यो घर तयार भयो ।’
घर निर्माणका लागि नेपाली कांग्रेसका स्थानीय युवा नेता हुकुमसिंह राइले नेतृत्व लिए । यो काममा सहयोगी बने थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ र पवन लुइँटेल ।
उनीहरुको विशेष सहयोग त छदैं थियो भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारी खटिएका थिए ।
यस्तो छ संगीताको कथा व्यथा
काखमा दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक बर्ष अघि संगीताका पति पुष्प राईको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । त्यसको ६ महिनापछि संगीताको काखमा तेस्रो सन्तानका रुपमा कान्छी छोरी एलिना थपिएकी थपिइन तर दुख र बेसहारा जीवन उनका लागि दिनदिनै भारी बनिरहेको थियो ।
आफनै अवस्थाबारे केही बोल्न नसक्ने छिन संगीता ।छिमेकी शान्ता चेम्जोङ ( देवान) भन्छिन– मुर्छा पर्ने बिरामी पनि रहेछ , खोला छेउमा गएको बेला डुबेर त्यस्तो घटना हुन गएछ । संगीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन– सोझा सिधा, गरीबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।
संगीताको परिवार त्यहाँ बस्नु अघि नातेदार ( संगीताका काका ससुरा) को घरमा बस्थ्यो । आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएको थियो । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो , उनीमाथि भगवानले पनि अन्याय गरेको जस्तै भएको थियो । दाताहरुको सहयोगमा प्राप्त खाद्यसामान ( राहत ) समेत ओत लगाउने ठाउँ थिएन, मेरै घरमा लगेर राखिदिन्थें– संगीताका छिमेकी शान्ता चेम्जोङ देवानले भनिन । उनले संगीताको जीवनमा यही घरनै सबैभन्दा खुशीको उपहार बनेको प्रतिक्रिया दिइन् ।

Leave a Reply

Your email address will not be published.