राष्ट्रगानका एक जना गायक थापाको कोरोनाबाट निधन

झापा ,११ असार । कोरोना संक्रमणबाट राष्ट्रगानका एक जना गायक झापा,मेचीनगर निवासी अजय थापाको निधन भएको छ । लोकतन्त्र आएपछि बनेको राष्ट्रगानका एक जना गायक थापाको शुक्रबार बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राष्ट्रगानको समूह गायनका उनी एकजना सदस्य थिए ।
मेचीनगर–३ बडाखाल घर भएका ६० बर्षिय उनी एक साता अघि कोरोनाबाट सङ्क्रमित भएर बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
उनकी श्रीमती राधा पनि कोरोना संक्रमित भएर बिएण्डसी अस्पतालमै उपचाररत छिन् ।
अम्बर गुरुङको सङ्गीत र व्याकुल माइलाको रचना रहेको राष्ट्रगान राजतन्त्रको अन्त्यपछि २०६४ साउन १४ गतेदेखि नेपालमा लागू गरिएको हो। उक्त गीतमा अजयसहित १० जना गायक र १० जना गायिकाले स्वर भरेका छन् । अजय अम्बर गुरुङका निकट सहयोगी थिए । उनका दुई छोरी र एक छोरा अमेरिका अध्ययनका लागि गएका छन् ।
बुवाआमा विरामी भएपछि अमेरिकाबाट छोरीहरु विहीबार काठमाडौं आइपुगेकी र छोरा शनिवार आइपुग्ने छिमेकी पत्रकार सचिन सुब्बाले जानकारी दिए ।
बीपीमा उपचाररत ३ जना संक्रमितको मृत्यु
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार प्रतिष्ठानमा धरानका दुई पुरुष र एक महिलाको गत २४ घण्टामा मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा धरान- ५ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान करिब ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
मुटुसम्बन्धी रोगबाट पीडित वृद्धलाई असार १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएसँगै सोही दिन प्रतिष्ठानको कोभिड -१९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
त्यसैगरी, धरान- १३ की ४३ वर्षीया महिलाको बिहीबार दिउँसो करिब सवा २ बजे उपचार गर्दै गर्दा मृत्यु भएको छ ।
उच्च रक्तचाप र मधुमेहबाट पीडित महिलामा असार १० गते नै संक्रमण पुष्टि भएको थियो। सहप्रवक्ता पोखरेलले संक्रमण पुष्टि भएसँगै महिलालाई कोभिड -१९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएको केही घण्टाभित्रै महिलाको मृत्यु भएको उनले बताए ।
त्यसैगरी, धरान- ११ का ७५ वर्षीय वृद्धको पनि उपचारका क्रममा बिहीबार राति १० बजे मृत्यु भएको छ ।मधुमेह र उच्च रक्तचापबाट पीडित वृद्धमा असार ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड- १९ अस्पतालमा बिहीबार भर्ना गरिएर थप उपचार हुँदै गर्दा राति मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिए । यससँगै प्रतिष्ठानमा हालसम्म २ सय ४४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.