दमक अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा आउने

दमक,२४ जेठ । यहाँस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट जडानको गृहकार्य शुरु भएको छ । विश्व बैकको सहयोगमा एक महिना भित्रै त्यस अस्पतालमा प्रतिघण्टा ४० घन मिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट स्थापना हुने गरि कार्य अघि बढाईएको नगरपालिकाले जनाएको छ ।
सो सम्बन्धी अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सो का लागि आवश्यक सहयोग र समन्वयका लागि दमक अस्पताललाई पत्राचार गरेको जनाइएको छ ।
विश्व बैंकको सहयोगमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनओएसपी नामक परियोजनाले सो कार्यका लागि दमकमा आइतवार अक्सिजन प्लान्ट जडानका लागि उपलब्ध जग्गा, त्यहाँँको भौतिक अवस्था तथा आवश्यक अन्य पूर्वाधारहरुको स्थलगत जानकारी लिएको दमक अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार यहाँ जडान हुने सो प्लान्टका लागि आवश्यक उपयुक्त परिमाणको जग्गाको पहिचान , प्लान्टलाई अस्पतालको वितरण प्रणालीमा जोडने , बिद्युत प्रणालीको जडान तथा आवश्यक टहरा निर्माण लगायतका कामको जिम्मा सम्बन्धित अस्पतालको रहनेछ भने अन्य प्राविधिक तथा उपकरण विश्व बैंकको सहयोगमा सो परियोजनाले व्यवस्थापन गर्ने उल्लेख छ । यो दमकका लागि ठुलो उपलब्धी भएको बताउदै उपप्रमुख अधिकारीले जति सक्दो छिटो यसलाई सञ्चालनमा ल्याउने हाम्रो प्रयत्न हुने वताईन् ।
उनले भनिन् –‘यतिबेला कोरोना संक्रमणका कारण संक्रमितहरुमा अक्सिजनको मात्रा कमि हुन गई समयमा अक्सिजन उपलब्ध नहुँदा अकालमा ज्यान जाने क्रम छ । यो प्लान्ट स्थापनापछि दमकका अतिरिक्त प्रदेश एकका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव हुन पाउने छैन । ’
सरकारले एक सय बेड वा सो भन्दा बढी सबै अस्पतालहरुलाई आफैं अक्सिजन उत्पादन गर्ने व्यवस्था मिलाउन निर्देशन गरिसकेको अवस्थामा यो प्लान्टले साना अस्पतालहरुलाई राहत पुग्ने उनले वताईन् । ..

Leave a Reply

Your email address will not be published.