दमक,२७ बैशाख । झापाको कमल गाउँपालिका वडा न. ७ बिष्णुकठ्ठामा रहेको सिंहदेवी आधारभूत विद्यालयका पूर्व एक विद्यार्थीले कक्षा कोठा निर्माण गरिदिने भएका छन् ।
गौरादह -१ घर भई हाल भोजपुरमा कार्यरत शिक्षक द्रोर्णप्रसाद घिमीरेले करिव ३ लाख रुपैयाको लागतमा दुई कोठा निर्माण गरिदिने विद्यालय समन्वय समितिका अध्यक्ष युवराज तिम्सीनाले बताए ।
तिम्सीनाका अनुसार आफूले अध्ययन गरेको विद्यालयको अधुरो कक्षा कोठा बनाउन पूर्व विद्यार्थी घिमीरेले स्वेच्छिक रुपमा उक्त सहयोग गरेका हुन् । दाताको समन्वयमा अहिले कक्षा कोठा निर्माण कार्य भईरहेको छ । यसअघि सोहि विद्यालयका पूर्व शिक्षक समेत रहेका दाता घिमीरेकै पिता ख्रिन्द्र घिमीरेले रु ५० हजारको कोष समेत स्थापना गरेका छन् ।
गाउँपालिकाकै पूरानो त्यस विद्यालयमा दुई वर्ष यता प्रदेश तथा स्थानीय सरकारको सहयोगमा ७ वटा कक्षा कोठाको काम भईरहेका छन् । भवन निर्माण उपभोक्ता समितिका संयोजक समेत रहेका अध्यक्ष तिम्सीनाले निर्माण भएको पाँच कोठा कक्षा कोठामा प्रदेशको रु ७ लाख र गाउँपालिकाको ११ लाख ५० हजार लगानी छ ।
कक्षा ५ सम्म पठनपाठन हुदैआएको सो विद्यालयमा अहिले २५० जना विद्यार्थी अध्ययनरत छन् । गएको वर्षदेखि कक्षा ५ सम्मनै अंग्रेजी माध्यमबाट पढाई शुरु गरिएपछि विद्यार्थी ह्वातै बढ्न पुगेको विद्यालय समन्वय समितिका अध्यक्ष युवराज तिम्सीनाले जानकारी दिए ।