अत्यावश्यक बाहेकका सेवा बन्दगर्ने याङवरक गाउँपालिकाको निणर्य


पाँचथर २१ बैशाख
। कोरोनाका का आठ सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सेवा आजबाट बन्द गरेको छ । गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गर्दे कोरोना सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुदैआाएका अत्यावश्यक बाहेकका सबै सेवा आजदेखिनै एक साताका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए।

गाउँपालिकाले व्यापार–व्यवसायसमेत अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ भने खाद्यान्नका पसल बिहान ६ बजेदेखि १० बजेसम्म तथा अपराह्न ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने छन् । अध्यक्ष घिमिरेका अनुसार सार्वजनिक सवारी साधनलाई बजारी क्षेत्रमा रोक्न, यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ भने सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।

यस्तै धार्मिक, सामाजिक, सांस्कृतिक, खेलकूदसहितका भीडभाड हुने सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र सङ्क्रमणबाट बच्न सावधानी अपनाउन गाउँपालिकावासीमा अपिल गरेको छ । हिजो गरिएको एन्टिजेन परीक्षणमा याङवरक–१ का चार पुरुष र चार महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published.