दमक,२० बैशाख । आज आइतबार मध्यरातिदेखि झापामा आशिंक किसिमको निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण तथा रोकथामका लागि बैशाख २६ गते राती वजेसम्म अत्यावश्यक बाहेकका काममा हिंडडुल गर्न निषेधाज्ञा लगाएको हो ।
निषेधाज्ञामा सवारी साधन सञ्चालनका लागि जोर विजोर प्रणाली लागू गरिएको छ । आज पहिलो दिन वैशाख २० अर्थात जोर गते भएकाले जोर नम्बर भएका सवारी साधन मात्रै सञ्चालन हुन पाउनेछन । दमकमा निषेधाज्ञाको समयमा जोर विजोर प्रणाली उल्लंघन गर्ने सवारी साधनलाई धमाधम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले दमक र आसपासका १५ स्थानमा प्रहरी टोली खटाइएको जानकारी दिए । प्रहरीले जोर विजोर प्रणालीको उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिएर कारवाही गर्ने डिएसपी कार्कीले बताए ।
विहान ११ वजे बजार खुला
त्यस्तै दमकमा बिहान ११ बजे सम्म खाद्यन्न तथा दैनिक उपभोग्य सामान किनमेलका लागि समय तोकिएको र बिहान ११ बजे पछि पूर्ण रुपमा बजार बन्द रहने जनाइएको छ । इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघले पनि छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरेर आजदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन । दमक नगरपालिकाकी प्रवक्ता एवं उपप्रमुख गीता अधिकारीले कोरोना संक्रमण फैलिन नदिन सबै खाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका काममा बाहिर हिंडडुल नगर्न आग्रह गरिन ।