आज श्रीरामनवमी पर्ब (चैते दशै)

बैशाख ८, आज रामनवमी पर्व मनाइँदै छ । चैत शुक्ल नवमीका दिन देशभर रामको पूजा आराधना गरी रामनवमी पर्व अर्थात चैते दशै मनाइँदै छ । आज राम मन्दिरमा पूजापाठकालागि भक्त जनहरुको निकै भिडलाग्ने गर्दछ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपाल सरकारबाट स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गरेका छन । जनकपुरमा रहेको रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनको उलेख्य उपस्थिती रहने गर्दछ ।

त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको विश्वास गरिन्छ । सोहि दिनको सम्झनामा नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा रहिआएको छ ।

यसैबिच श्रीरामनवमीका अवसरमा चितवनको माडीमा रहेको अयोध्यापुरीमा रामसिताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रा गराइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । गएको असारमा प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.